काठमाडौँ । अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सामुदायिक तथा व्यक्तिगत सहयोगी सेवा सम्बन्धि विषयमा सरकारले गरेको सहमतिहरूको कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले राजधानीमा १५ मिनेट चक्काजाम सहित विरोध प्रदर्शन गरेका छन् । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र तनहुँको म्याग्दे गाउँपालिका–७ का दीपक भण्डारीबिच सामुदायिक तथा व्यक्तिगत सहयोगी सेवा सुरुवात गर्ने भनी भएको सहमतिको पालना नभएको भन्दै विरोधमा उत्रेको सम्झौता कार्यान्वयन संघर्ष समितिका सडक आन्दोलन संयोजक विकाश थापाले बताएका हुन् । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ ले व्यवस्था गरेको सामुदायिक सहायता सेवालाई २०८१ वैशाख १ गतेबाट सुरुवात गर्ने गरी भएको सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा आउनुपरेको बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बताए । तनहुँका दीपक भण्डारीले २०८० चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेपछि २०८० चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच बैशाख पहिलो सातादेखि सहमतीलाई कार्यान्वयनमा लैजाने सहमति भएको थियो । तर उक्त सहमती कार्यान्वयन नभएको भन्दै उनै भण्डारी हाल पनि शान्तिबाटिकामा निरन्तर अन्शनमा छन् । भण्डारीका जायज मागहरुलाई सम्बोधन गरी उनको जीवन रक्षाका लागि राष्ट्रिय अपाङ्ग महासंघ सहितका अन्य अपाङ्गता सम्बन्धि काम गर्ने संघसस्थाहरु र अपाङ्गता अधिकारकर्मीहरु एकजुट भएर आन्दोलनमा होमिएका हुन् । जायज मागहरु सम्बोधन नगरे राजधानीको मुख्य सडक घण्टै अवरुद्द गर्ने देखि आमरण अन्शनको स्थितिसम्म पुग्ने सम्झौता कार्यान्वयन संघर्ष समितिलेसरकारलाई चेतावनी समेत दिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले आन्दोलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्ग महासंघ एकिबद्द भएर भण्डारीले उठाएका मागहरुको लागि सडक संघर्ष देखि सरकारसँग समवन्यकारी भूमिका खेलिरहेको स्पष्ट पार्नुभयो । आन्दोलनमा बहिरा अटिजम श्रवणदृष्टिबिहन बौद्दिक मेरुदण्ड पक्षघात लगायतका सयौँ अपाङ्गता भएका व्यक्तिहरुले सहभागिता जनाएका थिए । यता अन्शनरत भण्डारीको स्वास्थ अवस्था पनि कमजोर भन्दै गएको छ । रातदिन सडकमै सुतिरहनु परेकोले स्वास्थ अवस्था असामान्य भइरहेको छ तर मेरो अन्तिम साससम्म पनि उक्त सहमती कार्यान्वयनका लागि आफू जस्तोसुकै अवस्था आए पनि सामना गर्ने भण्डारी बताउछन् ।