Kathmandu, 2025-10-16

अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिता सुनिश्चित नहुनुमा प्रमुख राजनितिक दलहरु नै जिम्मेवार ।

Nabaraj Soti
  • Updated 2024-10-28 07:43:17

१२ कार्तिक २०८१, नबराज सोती । अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिता सुनिश्चित नहुनुमा प्रमुख राजनितिक दलहरु नै जिम्मेवार रहेको अपाङ्गता अधिकारकर्मीहरुको तर्क छ । विभिन्न परिवर्तनका आन्दोलनमा अग्रपंक्तिमा रहि भूमिका खेले पनि आफूहरुले राजनितिक सहभागिताका सवालमा भने सबैभन्दा पछाडि पर्नुपरेको उनीहरुको गुनासो छ । सोमबार राजधानीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वालम्वन जीवनपद्दति केन्द्र काठमाण्डौँले आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिताका सवालमा राष्ट्रिय सभा सदस्यहरुसँगको छलफल कार्यक्रममा बोल्दै अपाङ्गता अधिकारकर्मी तथा पत्रकार माधव चौलागाईले भने “विभिन्न राजनितिक परिवर्तनका समयमा अपाङ्गता भएका व्यक्तिहरुले महत्तवपूर्ण भूमिका खेलेका छन् । त्यस्तै आन्दोलनकै क्रममा हजारौँ व्यक्तिहरु अंगभङ्ग भए तर आज उनीहरु नै राजनितिक सहभागितामा सवालमा पछाडि छन् । यसमा मुख्यत प्रमुख राजनितिक दलहरु नै जिम्मेवार छन्” । त्यस्तै अर्का अधिकारकर्मी टिका दाहलले अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक परिवर्तनका समयको भूमिका दलहरुले बिर्सेको जस्तो व्यवहार गर्दे आएका बताइन् । “सामाजिक सेवा सुविधाहरुमा राज्यले अपाङ्गतालाई सम्झेको भए पनि राजनितिक सहभागिताको सवालमा भने हामीलाई कहि कतै समावेश गर्दैनन्” । उनले थपिन् । अपाङ्गता अधिकार कोषको सहयोगमा आयोजित उक्त छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्दै अर्का अपाङ्गता अधिकारकर्मी मनिश प्रसाईले पनि अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिता सूनिश्चितताको लागि राजनितिक दलहरुले नि बैमानी गरेको बताउनुभयो । नेपालको संविधान देखि अन्य विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दस्तावेजहरुले अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरेको भएतापनि राजनितिक दलहरुले आफ्ना वाचाहरु विपरित कार्यान्वयनमा जोड् नदिएको प्रसाईको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वालम्वन जीवनपद्दति केन्द्र काठमाण्डौँका अध्यक्ष टेक बहादुर गुरुङको अध्यक्षतामा आयोजित उक्त छलफल कार्यक्रममा सहभागि राष्ट्रिय सभा सदस्यहरुले भने अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक सहभागिता हुनुपर्ने कुरामा जोड दिएका थिए । राष्ट्रिय सभा सदस्य तथा दिगो विकास तथा सुशासन समितिका सभापति कमला पन्थ, विधान समितिका सभापति तुलसा घिमिरे कुमारी घिमिरे तथा सदस्यहरु विष्णुदेवी पुडासैनी, तुल बहादुर विक, भुवन बहादुर सुनार लगायतले अपाङ्गता भएका व्यक्तिहरुको राजनितिक परिवर्तनका समयमा खेलेको भूमिका प्रंशंसनिय रहेको र अपाङ्गताको क्लष्टरलाई अल्पशंख्यकसँग समाहित गरेर अपाङ्गताको अपमुल्यन गर्न नहुने बताएका थिए । त्यसैगरी राष्ट्रिय सभा सदस्यहरुले निर्वाचन आयोगद्वारा तयार गरेर संसदमा पेश हुने क्रममा रहेको राजनितिक दलहरुको निर्वाचन सम्बन्धि विधेयकमा पनि अपाङ्गताका सवालहरु समावेश गर्न लाग्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा दिगो विकास तथा सुशासन समितिका निवर्तमान सभापति प्रकाश पन्थ, विधान समितिका पूर्व सभापति जयन्ती राई, दिगो विकास तथा सुशासन समितिका सचिव रोजनाथ पाण्डे, विधान समितिका सचिव मनोज कुमार गिरि, अपाङ्गता भएका व्यक्तिहरुको स्वावलम्वन जीवनपद्दती केन्द्र काठमाण्डौँका महासचिव गणेश केसी लगायत अपाङ्गता क्षेत्रका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share News


Name *
Comments *
COMMENTS