- नबराज सोती, काठमाण्डौँ । दिर्घकालिन रुपमा शरिरका कुनै पनि अङ्गले समान रुपमा कार्य गर्न कठिनाई हुने अवस्था अपाङ्गता भनिन्छ । त्यो कठिनाई मुख्य रुपमा उसको वातावणिय अवरोधले सिर्जना गर्ने गर्दछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानुनहरुले पनि अपाङ्गतालाई विभिन्न अवरोधहरुले सिर्जित अवस्थाकै रुपमा व्याख्या गरेको छ । तर हाम्रो समाजले भने अपाङ्गतालाई अशक्षमता र रोगको दृष्टिले हेर्ने गर्दछ जुन सरासर गलत र अल्पबुझाई हो । अझ अपाङ्गता भएका व्यक्तित्वहरुलाई प्रयोग गरिने शब्दावली त झन् सहानुभुति प्रकट गर्ने खालका प्रयोग हुन्छन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहानुभूति राखेर फरक क्षमता विशेष क्षमता भनेर समाजका बौद्दिक पढे लेखेकै वर्ग समुदायका व्यक्तित्वहरुबाट समेत अपाङ्गतालाई गलत रुपमा अल्पबुझाई रहेको स्पष्ट नै छ । चाहे अपाङ्गता होस् या नहोस् मानव जीवनका सम्पूर्ण आवश्यकता परिपूर्ति गर्न अपाङ्गता नभएका व्यक्तिहरुले जे जसरी कार्य गर्दछन् अपाङ्गता भएका व्यक्तिहरुले पनि त्यहि तरिकाले गर्ने हुन् । उदाहरणका लागि साङ्ग व्यक्तिले कानले सुन्ने हो भने अपाङ्गता भएका व्यक्तिहरुले पनि सुन्ने कानले नै हो । त्यस्तै अपाङ्गता नभएका व्यक्तिहरुले खाना चपाउने मुखले नै हो भने अपाङ्गता भएका व्यक्तिहरुले पनि मुखले नै हो अथवा विभिन्न खेलकुदहरुले खेल्ने विधि अपाङ्गता होस् या नहोस् खेल्ने तरिका दुबैले समान तरिकाले नै हो । यस कारण ‘अपाङ्गता भएका व्यक्तिहरुले कुनै पनि कार्य अन्य व्यक्ति भन्दा कुनै फरक विधिबाट गर्ने भए त्यसलाई फरक क्षमता वा विशेष क्षमता भन्न उपयुक्त हुन्छ तर सहानुभूतिको नाममा मानव सभ्यतालाई नै गलत ढङ्गमा व्याख्या हुने खालका यस्ता शब्दहरु प्रयोग गर्नु उचित हैन’ । विद्यालयमा कोहि विद्यार्थी विज्ञानमा राम्रो हुन्छन् तर सामाजिक रुपमामा अलि कमजोर हुन्छन् अथवा कोहि विद्यार्थी नेपालीमा राम्रो होलान तर अङ्ग्रेजीमा अलि कमजोर होलान् । अब यो भन्ने बित्तिकै कसैलाई फरक क्षमता वा विशेष क्षमता भन्नुपर्दछ भन्ने हैन । यो त मानव गुण नै हो । कोहि पनि व्यक्ति सबै विषयमा जानकार हुँदैन । त्यति भन्ने बित्तिकै उसलाई फरक दृष्टिबाट हेरिनु आफैमा अल्पबुझाई हो । हो बरु मनुष्यका इच्छा आकाङ्क्षा फरक हुन सक्छन् तर त्यो प्राकृतिक नियम हो । त्यसै गरी अपाङ्गता भएका व्यक्तित्वहरुलाई भत्केको बिग्रेकोसँग दाजेर उपमा पनि दिने क्रम रोकिएको छैन । संसारमा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले अभूतपूर्ण कार्य गरिसक्दा पनि हाम्रो समाज देखि राजनितिक वृत्तमा समेत अपाङ्गतालाई भत्केको बिग्रेकै दृष्टिमा हेरिनु आपत्तिजनक विषय हो । यति मात्रै हैन जसरी बहिरा नागरिकहरुलाई सन्चारको लागि दोभाषेको आवश्यकता पर्दछ त्यसै गरी ठुला ठुला अन्तराष्ट्रिय प्रमुखहरुको राजकिय भ्रमण वा वार्तामा पनि त यस्तै सन्चारको लागि प्रतिनिधिहरु खटाइएका हुन्छन । मात्र यति हो कि बहिरा नागरिकहरुले सुन्न र बोल्न सक्दैनन् र दोभाषे आवश्यक पर्दछ अनि राष्ट्र प्रमुखहरुले एक अर्काको भाषा जान्दैन वा बुझ्दैनन् र एक प्रकारको दोभाषे नै प्रयोग गरिन्छ । यसर्थ संसारमा हर कोहि व्यक्ति आफैमा विशेष वा अर्को व्यक्ति भन्दा फरक हुन्छयसको मत्लब अपाङ्गता मात्र फरक वा विशेष हुन्छन् भन्ने हैन । यसर्थ ‘देशको जनशंख्याको २.२ % भन्दा बढि नागरिकको भावना विपरित उनीहरु प्रतिको गलत भाष्य बनाउनुले स्वयम् समाजलाई पनि एकताबद्द त बनाउदैन नै अपाङ्गता भएका व्यक्तिहरुको न्युनतम् मानव अधिकारको उपभोगबाट समेत वन्चित गराइराखेको स्थिति छ’। विभिन्न शिर्ष तहका नेताहरु, वरिष्ठ कलाकारहरु, पत्रकारहरु लगायत विभिन्न पेशा व्यवसायका नागरिका जसले समाजलाई सहि दिशामा डोर्याउन महत्तवपूर्ण भूमिका खेल्न सक्छन् उहाँहरुबाटै अपाङ्गता भएका व्यक्तिहरुलाई हास्य पात्र वा असक्षमतासँग दाजेर प्रस्तुत हुँदा त्यस कुनै पनि अर्थमा राम्रो सन्देश दिदैन । सामाजिक कथा वस्तु समेटेर प्रस्तुत हुने हास्य हास्य टेलिश्रखला तथा चलचित्रहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई बढि मात्रामा बिग्रको भत्केकोसँग दाज्ने गरिन्छ । ‘त्यसो गरिदा दर्शकश्रोताहरु मनोरन्जन लिन्छन् । तर त्यसैमा एक जना मात्र अपाङ्गता भएको व्यक्त्ति दर्शकश्रोताहरु छ भने उसको आत्मसम्मानमा कति चोट पुग्छ त्यो पनि उतिकै ध्यान दिनुपर्दछ’ । अपाङ्गता भएका व्यक्तिहरुको सवालमा बनेका अन्तर्राष्ट्रिय महासन्धि देखि राष्ट्रिय ऐन कानुनहरुले समेत अपाङ्गता भएका व्यक्तिहरुलाई फरक क्षमता विशेष क्षमता भन्न मिल्दैन भन्ने स्पष्ट नै छ । यति मात्र हैन हरेक व्यक्ति आफैमा कुनै न कुनै कुराले अरको व्यक्ति भन्दा फरक नै हुने वैज्ञानिक रुपमा पुष्ठि भएको विषय हो तर अपाङ्गता भएका व्यक्तिहरुलाई चाहिँ मानिलिउ मुखले खाने ठाउँमा अरु कुनै तरिकाले खान्छ जसरी फरक वा विशेष क्षमताको रुपमा व्याख्या हुनु आफैमा गलत छ । अपाङ्गता भएका व्यक्तिका क्षमतालाई महसुस गर्दा उहाँहरुलाई सहानुभुति प्रकट गरी यस्ता शब्दहरु प्रयोग हुने गर्दछन् तर वास्तवमा अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना क्षमताहरुलाई मुल्याङ्कन गरुन त चाहन्छन् तर यसको मत्लब अरु भन्दा फरक वा विशेष रुपमा सम्बोधन नै हुँने गरी भने कदापी पनि हैन । यस कारण पनि हामी कसैले अपाङ्गता भएका व्यक्तिहरुलाई फरक वा विशेष क्षमताको उपमा दिइ उनीहरुको आत्मसम्मानमा थप चोट दिने काम गर्नुहुदैन । मानव भएर जन्मिसके पछि अहिलेको विकसित युगमा पनि कोहि व्यक्ति कुनै कारणले हिन्ताबोधको स्थितिमा रहनु दुखद विषय हो । विकास निर्माणको क्रममा सँगसँगै लाग्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई उहि परम्परागत दृष्टिबाट हेरि सहानुभूति मात्रै प्रकट गरिराख्ने हो भने न त हामीले दिगो विकासको लक्ष्य पूरा गर्न सक्छौँ न हाम्रो राष्ट्रिय लक्ष्य सुखी नेपाली समृद्द नेपालको अभिभारा नै पूरा गर्न सक्छौँ । यसर्थ सबै वर्ग समुदायलाई सँगसँगै डोर्याएर ति लक्ष्य प्राप्त गर्नु नै साचो अर्थमा समृद्दि हासिल गर्नु हो ।