४ साउन २०८१, काभ्रे बनेपा । नबराज सोती । एबिलिस फाउण्डेशनको सहयोग एवम् राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको आयोजनामा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सुनिश्चिताका लागि बनेपामा सरोकारवालाबिच अन्तर्क्रिया गोष्ठि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा सम्पन्न भएको छ । काभ्रे जिल्ला भरि झरिएर रहेका अपाङ्गता सम्बन्धि कार्य गर्ने संघसस्थाका प्रतिनिति, जिल्लाका विभिन्न सार्वजनिक यातायातका संगठनका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु र स्थानिय तहका सामाजिक विकास शाखाका प्रतिनिधिहरु बीच उक्त अन्तरक्रिया गोष्ठि सम्पन्न भएको हो । अन्तरक्रियामा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका निवर्तमान अध्यक्ष किरण शिल्पकारले सस्थाको परिचय, सार्वजनिक यातायातमा अपाङ्गताका विषयहरु, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सुनिश्चिताका लागि सस्थाले गरिरहेका प्रयासहरु र आगामी योजना बारे संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणको क्रममा निवर्तमान अध्यक्ष शिल्पकारले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच वृद्दिका लागि हालसम्म बनेका नीतिगत र कानुनी विषयहरु बारे पनि जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा सहभागी काभ्रे बहिरा विकास संघका अध्यक्ष शर्मिला मानन्धरले बहिरा व्यक्तिहरु जट्ट हेर्दा अपाङ्गता नदेखिने भएकाले सांकेतिक भाषा गर्दा सहचालकहरुले नाटक गरेको जस्तो व्यवहार गरी आत्मसम्मानमा चोट पुर्याउने कार्य भइरहेको अवगत गराउनुभयो । त्यस्तै अर्का सहभागी मध्ये नेपाल अपाङ्ग महिला संघ काभ्रेका महासचिव पम्फा पुरकोटीले सार्वजनिक यातायातहरुले झट्ट देख्दा देखिने अपाङ्गता बाहेकका अपाङ्गतालाई वेवास्था गर्ने, अपाङ्गता परिचयपत्र देखाउदा पनि नपत्याउने अवस्था रहेकाले जिल्लाभरिका सार्वजनिक यातायातका चालह सहचालकहरुलाई अभिमुखीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । जिल्लाको सार्वजनिक यातायातका संगठनको तर्फबाट काभ्रे बस प्रा.लि. का प्रतिनिधि भिमशेन कार्कीले आफुले दृष्टिबिहिन र शारीरिक अपाङ्गता बाहेक अन्य अपाङ्गता हुने कुरा पहिलोपटक जानकारी पाएको बताए । त्यस्तै कार्कीले काभ्रे बस प्रा.लि.ले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताको लागि सक्दो प्रयास गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । त्यस्तै मयुर यातायातका प्रतिनिधि राजकुमार श्रेष्ठले मयुर यातायातले पनि अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच सुनिश्चितताको लागि सक्दो प्रयास गर्ने प्रतिबद्दता व्यक्त गर्दै यस्तै अन्तरक्रिया जनचेतानामुक कार्यक्रम अझै धेरै आवश्यक रहेको समेत बताउनुभयो । स्थानिय तहका सामाजिक विकास शाखाका प्रतिनिधिहरुको तर्फबाट आफ्ना धारणा राख्नुहुदै धुलिखेल नगरपालिकाका प्रतिनिधि संगिता भण्डारीले धुलिखेल नगरपालिकालाई अपाङ्गतामैत्री नगरपालिका बनाउने अभियान अघि बढिरहेको बताउनुभयो । त्यस्तै बनेपा नगरपालिकाका प्रतिनिधि सपना ओलिले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास एवम् आयआर्जन वृद्दिका सवालमा बजेट विनियोजन गर्दै आएको र सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच सुनिश्चिताका लागि पनि आगामी दिनमा कार्ययोजना अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि गोपी राम भण्डारीले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि ट्राफिक प्रहरीको तर्फबाट सधै साथ सहयोग रहदै आएको साथै अपाङ्गता भएका व्यक्तिहरुलाई बस नरोके, चालक सहचालकले आत्मसम्मानमा चोट पुग्ने कार्य गरे तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्न सहभागि अपाङ्गता भएका व्यक्तिलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै अपाङ्गता अधिकारकर्मी रमा ढकालले आगामी दिनमा पनि यस्तै सवालका जनचेतनामुलक कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत संघसस्थाका प्रतिनिधिहरु र अन्य अपाङ्गता भएका व्यक्तिहरु सहित २० जना भन्दा बढिको सहभागिता रहेको थियो ।