Kathmandu, 2025-10-16

अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सवालमा सरोकारवालासँग छलफल ।

Nabaraj Soti
  • Updated 2024-06-07 06:17:33

राष्ट्रिय अपाङ्ग रोजगार प्रवर्धन तथा अनुसन्धान संघको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सवालमा सरोकारवालासँग छलफल कार्यक्रम लाजिम्पाट काठमाण्डौँको कोथिना मिठो छ स्कुल अफ हस्पिटालिटिमा सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग रोजगार प्रवर्धन तथा अनुसन्धान संघका कार्यवाहक अध्यक्ष डा.लक्ष्मण प्रसाद ज्ञवालीको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव बिनोद कुमार दाहालको विशेष आतिथ्यता रहेको थियो । विभिन्न नीजि क्षेत्रका प्रतिनिधिहरुसँगको छलफल कार्यक्रममा मुलत अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । छलफललाई सम्बोधन गर्नुहुँदै विशेष अतिथि समेत रहनुभएका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव बिनोद कुमार दाहालले सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई कल्याणकारी रूपमा नभई अधिकारमुखी अवधारणाबाट हेरिरहेको बताउनुभयो । त्यस्तै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनको लागि रोजगारी र स्वरोजगारीमा जोड्न आवश्यक रहेको भएर नगरपालिकाले पनि यस सवाललाई प्राथमिकताका साथ सहयोग गर्दै आएको धारणा राख्नुभयो । राष्ट्रिय अपाङ्ग रोजगार प्रवर्धन तथा अनुसन्धान संघले गोकर्णेश्वर नगरपालिकाकै सहयोगमा कोथिना मिठो छ स्कुल अफ हस्पिटालिटिमा दजनौँ बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई हस्पिटालिका तालिमहरु समेत प्रदान गर्दै आएको छ । कार्यक्रम सहजीकरण गर्नुहुँदै राष्ट्रिय अपाङ्ग रोजगार प्रवर्धन तथा अनुसन्धान संघका महासचिव जगदीश प्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीमा सहभागिता वृद्दि गराउनु नै आजको अपाङ्गता आन्दोलनको आवश्यकता र आचित्य रहेको बताउनुभयो । उहाँका अनुसार अपाङ्गता सम्बन्धि समाजको नकारात्मक धारणा परिवर्तनका लागि पनि अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोडिर अन्य व्यक्ति सरह सम्मानित र मर्यादित जीवन जीउन थालेपछि स्वत समाजले अपाङ्गतालाई सकारात्मक रुपमा ग्रहण गर्ने भएकाले रोजगारीको अभियानलाई माध्यम बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कोथित मीठो छ का निर्देशक देवेन्द्र पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुमा पनि बहिरा अपाङ्गता भएका व्यक्तिहरुको काम प्रतिको लगाब प्रशंसनिय रहेको बताए । त्यस्तै गरी एभोकाडो क्याफे प्रा.ली का गोविन्द कूमार श्रेष्ठले अन्य व्यक्तिहरुको विदेश पलायनको अवस्था बढ्दै गएकाले अपाङ्गता भएका व्यक्तिहरू दिगो रूपमा काम गर्ने भएकाले पनि रोजगारीमा जोड्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी होटल याम्बेस्डरका प्रतिनिधि कविता रायमाझिले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोड्दै गर्दा रोजगारदाताहरुले ध्यान दिनुपर्ने पहुँचयुत्ताको सन्दर्भमा राज्य स्तरबाटै निर्देशिका बनाए थप सहज हुने बताउनुभयो । नाइस फाउण्डेशनका सन्चालक जगदीश भट्टराईले कोथिना मिठो छ स्कुल अफ हस्पिटालिटिमा तालिम लिइरहेका उत्कृष्ट दुई जनालाई आफ्नो रेष्टुरेन्टमा रोजगारी प्रदान गर्ने विश्वाश व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका अध्यक्ष तारा बदन सेढाईले अपाङ्गता भएका व्यक्तिहरु रोजगारीमा जोडिसकेपछि घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा कत्तिको सकारात्मक परिवर्तन आउछ भन्ने स्वयम् आफै उदाहरण भएको कारणले नीजि सस्थाहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको दक्षता क्षमता हेरेर रोजगारीमा समावेश गरिदिनहुन आव्हान गर्नुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत भिमा थापा, नगरपाकिकाकै कर्मचारी अनिता विष्ट, पाउलिन गार्डेन क्याफेका बिकिन श्रेष्ठ लगायत विभिन्न नीजि रोजगारदाता र सरकारी निकायका प्रतिनिधिहरु सहित ३० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रमलाई समापन गर्नुहुँदै राष्ट्रिय अपाङ्ग रोजगार प्रवर्धन तथा अनुसन्धान संघका कार्यवाहक अध्यक्ष डा.लक्ष्मण प्रसाद ज्ञवालीले अपाङ्गता भएका व्यक्तिहरुको रोजगार प्रवर्धनका लागि उक्त छलफलले केहि नतिजा दिने विश्वास व्यक्त गर्नुहुदै सहयोगका लागि गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद दिनुभयो । २१ जेष्ठ २०८१, लाजिम्पाट । नबराज सोती ।

Tags :

Share News


Name *
Comments *
COMMENTS