नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघले एबिलिज फाउण्डेशनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदका अधिकारहरु सुनिश्चित गर्नका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई विभिन्न मागहरु राखी ज्ञापन पत्र पेश गरेको छ । एबिलिज फाउण्डेशनका नेपाल संयोजक डा. विरेन्द्रराज पोखरेल, खेलकुद संघका अध्यक्ष देवी आचार्य, महासचिव दिलिप सापकोटा, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिपक कोइराला लगायतका प्रतिनिधिले खेलकुदमन्त्री श्रेष्ठलाई मन्त्रालयमै भेटि दुईवटा पाराहरुको विवाद मिलाउने देखि अपाङ्गता खेलकुदलाई पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने, खेलकुद मैदानहरु देखि खेलकुदसँग सम्बन्धित निकायहरु अपाङ्गतामैत्री बनाउन पहल गर्नुपर्ने लगायतका मागहरु राखी ज्ञापनपत्र बुझाएका हुन् । एबिलिज फाउण्डेशनका नेपाल संयोजक डा. विरेन्द्रराज पोखरेलले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि सिआरपिडिको धारा ३० ले व्यवस्था गरेको अपाङ्गता खेलकुदको विकासका सवालमा पक्ष राष्ट्रलेकाम गर्नुपर्ने विषयको कार्यान्वयनका लागि मन्त्रालयले कार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । त्यस्तै नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दिपक कोइरालाले पारा भन्ने बित्तिकै अपाङ्गतासँग सम्बन्धित विषय भएकाले यसको नेतृत्वमा स्वयम् अपाङ्गता भएका व्यक्तिहरु नै हुनुपर्ने तर नेपालमा भने त्यसो नभई अपाङ्गता खेलकुदलाई पछाडि पार्ने उदेश्यले विभिन्न विवादहरु सिर्जना गरी अर्को कमिटी निर्माण भएको हुदाँ मन्त्रालयले यस सवालमा गम्भिर भएर अपाङ्गताको मर्म र भावना अनुरुप विवाद सुल्झाउन काम गरिदिनहुन मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । जवाफमा ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री श्रेष्ठले अब अन्तिमपटक दुई पारा कमिटीका पधादिकारीहरु बसेर आपसी सम्झदारीमा विवाद सुल्झाउन तिर लाग्न आग्रह गर्नुभयो । “पाराको विवाद बारे फेरि एकपटक यहाँहरु दुबै पक्षका सरोकारवाला संवाद गरेर अघि बढ्नुहोस् त्यसो गर्दा पनि भएन भने मलाई कानुनले दिएको अधिकारका आधारमा निर्णय लिनेछु” मन्त्री श्रेष्ठले बताउनुभयो । त्यसैगरी मन्त्री श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको खेलकुद विकासका लागि पर्याप्त बजेटको यकिन तथ्याङ ल्याउन आग्रह गर्नुहुदैँ कुनै पनि अपाङ्गता वा साङ्ग खेलाडीले आर्थिक अभावका कारण खेलकुदका गतिबिधिबाट वन्चित हुने अवस्थाको अन्त्यका लागि म लागिरहेको छु । अन्य मागहरुमा पनि आवश्यक छलफल गरेर सम्बोधन गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । ८ चैत्र २०८०, काठमाण्डौँ । नबराज सोती ।