माघ २१ /२०८२, संगिता काफ्ले । काठमाण्डौं । पहिचान नेपालको आयोजनामा अध्ययन प्रतिवेदन विमोचन र ७ औ वार्षिक उत्सव काठमाडौमा सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले मधेस प्रदेशमा अपाङ्गता भएका महिला तथा किशोरीहरूमा दाइजो तथा बाल विवाहको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदनको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पहिचान नेपालको संस्थापक अध्यक्ष ईक्ष्छा के सी ले समाजमा एकल महिलाहरूले भोग्नु परेको समस्याको बारेमा बताउनु भयो । उक्त कार्यक्रममा मदेश प्रदेशका विभिन्न जिल्लाहरुबाट आएका सहभागीहरूले आफ्नो जीवनमा विवाह गर्न कठिन भएको यदि बिबाह भई हाल्यो भने तुरुन्तै सम्बन्ध विच्छेदको अवस्था सृजना हुने गरेको र पछि जीवनमा साहस बटुलेर विभिन्न तालिमका माध्यमहरूबाट सफलता हासिल गरेको बताउनु भयो । सोहि कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव नीरा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका अप्सरा ओली ले आ आफ्नो आयोगले गरेका कार्यहरू बारे बताउनुभयो । त्यसै गरि राष्ट्रिय महिला आयोगका सदस्य विद्या कुमारी सिन्हा ले संविधानले दिएको महिलाको हक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो ।दोस्रो चरणमा भएको संस्थाको वार्षिक उत्सव कार्यक्रमका अतिथि समेत रहनु भएका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व अध्यक्ष वीरेन्द्र राज पोखरेल ले सामूहिक सुरक्षा र कल्याणकारी कार्यविधि को महत्त्व ,यसको सान्दर्भिकता र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको संस्था एवम् क्षेत्रमा यसको आवश्यकताका बारेमा प्रकाश पार्नुभयो । उक्त दोस्रो चरणको कार्यक्रममा ७ औ वार्षिक उत्सवको अवसरमा विभिन्नमा अपाङ्गता अधिकारकर्मी र विभिन्न संघ संस्था का प्रतिनिधिहरूले संस्थाको उत्तर उत्तर प्रगतिको कामना सहित आफ्नो मन्तव्य राख्नु भएको थियो।