राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएका व्यक्तिहरुको संगठन श्रुतिको आयोजना तथा काठमाण्डौँ महानगरपालिकाको सहयोगमा सुस्तश्रवण अपाङ्गताको उद्यमशिलता तथा रोजगारीका लागि सरोकारवाला निकायहरुको भूमिका सम्बन्धि कार्यशाला गोष्ठि राजधानीको नक्सालमा सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काठमाण्डौँ महानगरपालिका, युवा तथा साना व्यवसायी स्वोरोजगार कोष, उद्योग वाणिज्य महासंघ नेपाल र सुस्त श्रवण अपाङ्गता भएका व्यक्तिहरु बिच भएको गोष्ठिमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीमा पहुँचको अवस्था न्युन रहेको विषय उठेको थियो । कार्यक्रममा बोल्दै श्रुतिका सदस्य अग्निशिखा आचार्यले आफूहरु रोजगारीका सबै मापदण्ड पूरा गर्दागर्दै पनि सुस्त श्रवणकै कारण अन्तिममा छनौट नभइरहेको अवस्था रहेको बताइन् । अर्का सुस्त श्रवण अपाङ्गता भएका सहभागी समीक्षा घिमिरेले पनि त्यस्तै गुनासो पोखिन् । कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भवानी कपालीले भने महानगरले अपाङ्गताका सवालमा नमुना कामहरु गरिरहेको दाबी गरिन् । “हामीले अपाङ्गताका विभिन्न सवालमा बजेट विनियोजन गर्ने देखि कार्यक्रमहरु गर्नेसम्म हेर्दा नमुना काम गरिरहेका छौँ । अस्ति मात्र हामीले ४० जना बहिरा अपाङ्गतालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्दिर सरसफाइ गर्ने काममा जोडयौँ । कपालीले भनिन । यति मात्र नभएर रोजगारी तथा स्वोरोजगारीका सवालमा महानगरपालिकाबाट तय भएका श्रम बैँक लगायतका कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु जोडिन आग्रह गरिन् । त्यस्तै युवा तथा साना व्यवसायी स्वोरोजगार कोषका कार्यक्रम शाखा प्रमुख लोक बहादुर खड्काले कोषले अपाङ्गता भएका व्यक्तिरहरुलाई स्वोरोजगारमा जोड्न भइरहेका कार्यहरु बारे प्रस्तुतीकरण राख्नुभएको थियो । त्यसैगरी उद्योग वाणिज्य महासंघ नेपालका प्रतिनिधिले भने अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य रोजगारीमा जोड्छौँ भन्ने कुरामा सहमत गरेर उद्योग व्यवसायहरुलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याउन आवश्यक रहेको बताइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका अधिकृत पुष्पा कुमारी झा ले भने मन्त्रालयले सामान्य तालिम भन्दा पनि बजारमा योग्य जनशक्ति उत्पादन हुने किसिमका तालिममा जोडेर अपाङ्गता भएका व्यक्तिहरुलाई स्वोरोजगारमा जोड्ने लक्ष्य लिएको बताइन् । अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनको सवाललाई सरोकारवालासम्म पुर्याएर नीतिगत तह देखि कार्यक्रम तर्जुमा हुने तहसम्म अपाङ्गताका सवालहरु उठान गर्ने उक्त अन्तरक्रिया गोष्ठि आयोजना गरेको आयोजक सस्था श्रुतिका अध्यक्ष नीता केशरी भट्टराईले जानकारी दिनुभयो । गोष्ठिमा सरोकारवाला निकायका प्रतिनिधिहरु र सुस्त श्रवण अपाङ्गता भएका व्यक्तिहरु सहित २० जना भन्दा बढिको सहभागिता रहेको थियो ।