राष्ट्रिय अपाङ्ग पुनर्स्थापन केन्द्र नेपाल को आयोजना एबिलिस फाउन्डेसनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पैरवी सीप तथा बजेट मूल्याङ्कन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न । २०८२ पौष २८ गते काठमाडौँ संगिता काफ्ले । राष्ट्रिय अपाङ्ग पुनर्स्थापन केन्द्र नेपाल को आयोजना एबिलिस फाउन्डेसनको सहयोग तथा टोखा नगरपालिकाको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पैरवी सीप तथा बजेट मूल्याङ्कन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य महेश्वर घिमिरेले स्थानीय निकायमा अपाङ्गता उत्तरदायी बजेट सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । स्वावलम्बन जीवनपद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतम ले अपाङ्गता हुनु समस्या होइन, समस्या त केवल समाजको सोच र दृष्टिकोण रहेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिका ९ का वडा अध्यक्ष राम भक्त घिमिरेले अपाङ्गता भएका व्यक्तिहरू यही देशका नागरिकहरू हुन् । स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूको मुद्धाहरुलाई अगाडी बढाउनु पर्दछ । आफ्नो कार्यकालमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने तत्पर रहेको बताउनु भयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व अध्यक्ष डा विरेद्र पोखरेल ले टोखा नगरपालिकालाई अपाङ्गताको क्षेत्रमा नमुना नगरपालिकाको रूपमा अगाडी बढाउनु पर्ने सल्लाह दिनुभयो । आफ्नो धारण राख्ने क्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी ले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले उचित संरक्षण दिनुपर्ने कुरा बताउनु भयो । अधिकारी ले टोखा नगरपालिका का अपाङ्गता भएका व्यक्तिहरूको लागि बजेट विनियोजन गरी अपाङ्गताको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका राष्ट्रिय अपाङ्ग पुनर्स्थापन केन्द्र नेपाल का अध्यक्ष राम प्रसाद ढुङ्गानाले टोखा नगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरेका कार्यहरूबारे बताउनु भयो । कार्यक्रममा टोखा नगरपालिका वडा सदस्यहरू ,अटिजम, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अभिभावक विभिन्न विद्यालयका शिक्षक साथै सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।