२४ पुष २०८२, बिहीबार काठमाडौँ । गोकर्णेश्वर नगरपालिका तथा गोकर्णेश्वर–६ को आर्थिक सहयोगमा होचापुड्का समाजको आयोजनामा पुस १ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त तालिममा झोल साबुन, फिनेल, कोलिन तथा हार्पिक निर्माण सम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको हाे । तालिम समापन कार्यक्रम होचापुड्का समाजकी अध्यक्ष रुकमणी खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । समाजसेवी तथा कलाकार माया थामीको विशेष उपस्थिति रहेको थियो । साथै तालिम प्रशिक्षक हिरालाल भुजेल, संस्थाका पदाधिकारीहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै समाजसेवी तथा कलाकार माया थामीले आफू विगत लामो समयदेखि अशक्त तथा अपाङ्गता भएका नागरिकहरूको हक–हित र सशक्तीकरणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले होचापुड्का समाजले गर्दै आएको सकारात्मक पहलको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग र साथ–सपोर्ट रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, होचापुड्का समाजकी अध्यक्ष रुकमणी खड्कालेअपाङ्गता भएका व्यक्ति तथा होचापुड्का भएका नागरिकहरूको जीवनस्तर उकास्न लक्षित गरी आगामी दिनहरूमा अझै विशेष, प्रभावकारी तथा दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तालिमका सहभागीहरूमा आत्मविश्वास वृद्धि भएको र प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर तथा स्वरोजगार बन्ने आधार तयार भएको बताउनुभयो। २० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले झोल साबुन, फिनेल, कोलिन र हार्पिक जस्ता दैनिक उपभोग्य सामग्रीहरू घरमै उत्पादन गर्न सक्ने व्यावहारिक ज्ञान हासिल गरेको बताएका छन्। प्रशिक्षण आयुर्वेद डाक्टर हिरालाल भुजेलले दिनु भएको थियो । सहभागीहरूका अनुसार , थप मेहनत, लगानी र बजार व्यवस्थापन गर्न सके यही सीपमार्फत स्वरोजगार सिर्जना गर्न सकिने विश्वास बढेको बताए । कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। स्थानीय तहको सहयोग र सामाजिक संस्थाको सक्रियतामा सञ्चालन भएको यस किसिमको सीपमूलक तालिमले अपाङ्गता भएका नागरिकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने छ। तालिममा सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो। तालिमको उद्देश्य अपाङ्गता भएका तथा होचापुड्का अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउनु रहेको आयोजक संस्थाले जनाएको छ।