११ साउन २०८१, नबराज सोती । Norwegian Agency for Exchange Cooperation (NOREC) को आर्थिक सहयोग, प्रोचेष्टा बंगलादेशको समन्वय एवम् नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजनामा समावेशी शिक्षाको सवालमा गोकर्णेश्वर नगरपालिका भित्रका सरकारी विद्यालयका शिक्षकशिक्षिकाहरुलाई क्षमता अभिवृद्दि सम्बन्धि तालिम प्रदान गरिएको छ । नगरपालिकाका भित्रका सहयोगी माध्यामिक विद्यालय, श्री भिमदेव आधारभूत विद्यालय, श्री राम जानकी आधारभूत विद्यालय, श्री बालसुधार माध्यामिक विद्यालय, गोकर्ण माध्यामिक विद्यालय, श्री ईश्वरी आधारभूत विद्यालय, खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यामिक विद्यालय, श्री सुन्ताखान माध्यामिक विद्यालय, श्री बागद्धार आधारभूत विद्यालय र श्री सुन्दरीजल प्राथमिक विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षकशिक्षिकाहरुलाई समावेशी शिक्षाको सवालमा विभिन्न विषयहरु समेटेर विषयविज्ञ मार्फत तालिम दिइएको नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले जानकारी दिनुभएको छ । विषयविज्ञका तर्फबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समावेशी शिक्षाको सवालमा अनुभव बटुल्नुभएका अधिकारकर्मी निर्मला धिताल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरका अधिकृत नारद प्रसाद धमलाले समावेशी शिक्षाका बहुआयामिक विषयहरु समेटेर आआफ्ना प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख डण्डपाणि शर्माले नगरपालिकामा अपाङ्गता वा अन्य कुनै पनि कारणले बालबालिकाहरु शिक्षाको पहुँच बाहिर नरहेको दाबी गर्नुभयो । उपसचिव समेत रहेका शिक्षा शाखा प्रमुख शर्माले यदी कोहि कुनै पनि कारणले शिक्षाको पहुँचमा नजोडिनुभएको छ भने नगरपालिकालाई खबर गर्न समेत आग्रह गर्नुभयो । तर समावेशी शिक्षाको सवालमा भने नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले धेरै काम गर्न बाकि रहेको साथै नगरपालिकाको तर्फबाट समावेशी शिक्षा प्रवर्धनको सवालमा गम्भिर भएर थप कार्यक्रमहरु तह गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो । Norwegian Agency for Exchange Cooperation (NOREC) सहयोग र प्रोचेष्ठा बंगलादेशको समन्वयमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले लामो समयदेखि गोकर्णेश्वर नगरपालिका भित्रका सरकारी विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी एवम् अभिभावकहरुको लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका सामाजिक विकास शाखाका उपप्रमुख भिमा थापाको पनि आतिथ्यता रहेको थियो ।