२५ साउन २०८१, नयाँ बानेश्वर । नबराज सोती । राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालको आयोजना तथा एबिलिस फाउण्डेशनको सहयोगमा सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तताको विषयलाई लिएर सन्चारकर्मीहरुले खेल्नसक्ने भूमिका बारे अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा कान्तिपुर दैनिकबाट नुमा थाम्सुहाङ, राइजिङ नेपालबाट बिनु श्रेष्ठ, नयाँ पत्रिका दैनिकबाट शिवहरी घिमिरे, हिमालयन टाइम्सबाट सरला बइजु, गोरखापत्रबाट कविता थापा र अन्लाइनखबरबाट सुमित्रा लुइटेलको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहँदै एबिलिस फाउण्डेशनका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरेलले पहुँचयुक्तताको विषयमा राष्ट्रिय अन्तरराष्ट्रिय सन्धि सम्झौताहरुमा भएका व्यवस्थाहरु बारे जानकारी दिनुहुँदै सन्चारकर्मीहरुले यस विषयको उठानका लागि महत्तवपूर्ण भूमिका खेल्न सक्ने बताउनुभएको थियो । “म स्वयम् दृष्टिबिहिन भएर पनि पहुँचयुक्तताको कारण आफैले कम्युटर चलाएर काम गर्दै आएको छु । प्रविधि पहुँचयुक्त हुँदा पियचडि सम्मको अध्ययन गर्न सके । यस्तै शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातको त्यस्तै आवश्यक हुन्छ”। डा. पोखरेलले बताउनुभयो । त्यस्तै डा. पोखरेलका अनुसार सन्चारकर्मीहरुलाई थप प्रेरणा होस् भन्ने उदेश्यले यसै वर्ष देखि अपाङ्गताका विषयमा उत्कृष्ट समाचार फिचर वा लेख प्रकाशन वा प्रशारण गरी समाजमा सकारात्मक परिवर्तन आएको विषयमा उत्कृष्ट मध्येलाई अवार्डको व्यवस्था गरिने प्रतिबद्दता व्यक्त गर्नुभयो । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तता स्थिति र आगामी दिनमा सन्चारकर्मीहरुले खेल्न सक्ने भूमिकालाई जोडेर प्रस्तुतीकरण गर्नुहुँदै राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालका निवर्तमान अध्यक्ष किरण शिल्पकारले पत्रकारहरुको कलमको मसीले नीति निर्माता देखि यातायात व्यवसायीहरुको मनोविज्ञान नै परिवर्तन हुन सक्ने सामाग्रीहरु प्रकाशनको लागि पत्रकारहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघ-नेपालका अध्यक्ष बिनिता रेग्मी, एबिलिस फाउण्डेशनका प्रतिनिधि लक्ष्मी देशार लगायतको पनि उपस्थिति रहेको थियो ।